मदन भण्डारी मेमोरियल कलेजमा उत्साहका साथ मनाइँदै ‘स्पोर्ट्स सप्ताह २०८०’

काठमाण्डौ । विद्यार्थी जीवनमा एकदमै रुचाइने क्षेत्र हो खेलकुद । खेलकुद त्यस्तो माध्यम हो जसले विद्यार्थीहरुको प्रतिभा देखाउने मात्रै नभइ विद्यार्थीहरुको शारीरिक एवम् मानसिक स्वास्थयलाई पनि जोड दिन्छ ।

सोही विषयलाई मध्यनजर गर्दै मदन भण्डारी मेमोरियल कलेजले यहि फागुन २७ गते देखि स्पोर्ट्स सप्ताह २०८० आयोजना गरेको छ । वर्षभरिको पठनपाठनलाई ब्रेक दिएर आयोजना गरिएको प्रतियोगीतामा छात्रा र छात्रहरुको उत्तिकै उत्साहका साथ सहभागीता देख्न सकिन्छ ।

उद्घाटन सत्रमा बोल्दै क्याम्पस प्रमुख बाबुराम अधिकारीले खेलकुदका माध्यमबाट विद्यार्थीहरुलाई शारीरिक र मानसिक स्वास्थ्य दुवैमा सक्रिय रहन प्रोत्साहित गर्ने र वार्षिक क्यालेन्डरअनुसार नियमित कार्यक्रहरु सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

विद्यार्थीहरुको विभिन्न प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यका साथ खेलकुद कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ । जिल्लास्तरीय, प्रादेशीक, राष्ट्रिय एवम् अन्तराष्ट्रियस्तरमै खेलाडीकारुपमा उदीयामान भई कलेजको उच्च शान कायम राख्न पनि उहाँले शुभकामना दिनुभयो ।

विद्यार्थीहरुलाई पठनपाठनमा बाहेक अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउने उद्धेश्यले प्रतियोगीताको आयोजना गरिएको अतिरिक्त क्रियाकलापका संयोजक मोहित गुँरागाईले बताउनुभयो । सबै प्रतिस्पर्धी विद्यार्थीलाई मन लगाएर उत्साहका साथ खेल्न उहाँले आग्रह पनि गर्नुभयो ।

चार दिन चल्ने प्रतियोगीता समूहगत, व्यक्तिगत र इ–स्पोर्टसगरी तीनवटा विधामा आयोजना हुनेछन् । समूहगततर्फ बास्केटबल, फुटसल, ब्याटमिन्टन, टेबलटेनिस, टग अफ वार र भलिबल हुनेछ । व्यक्तिगत विधातर्फ ब्याटमिन्टन, क्यारम बोर्ड, चेस, म्याथ क्वीज रेस, म्यूजिकल चेयर, स्लो बाइसाइकल रेस र टेबलटेनिस समावेश गरिएका छन् । त्यसैगरी इ–स्पोर्टसमा क्लास रोयल, फिफा, फ्रिफायर र पबजी समावेश छन् ।

फुटसल र भलिबलबाहेक खेलकुदका सबै प्रतियोगीता कलेज हाताभित्रै आयोजना हुनेछन् । स्पोर्ट्स सप्ताह फागुन ३० गतेसम्म सञ्चालन हुनेछ ।