मुलुकको व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको भन्न मिल्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको भन्न नमिल्ने बताउनुभएको छ ।

महिला दिवसको सन्दर्भमा मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकको व्यवस्था परिवर्तन भएसंगै बिभिन्न वर्ग समूदायहरुको हक अधिकार स्थापीत भएको भन्दै अवस्था परिवर्तन नभएको भन्ने हल्ला उचित नभएको बताउनुभएको हो ।

उहाले राज्यका हरेक निकायमा प्रतिशत तोकेर महिला सहभागीता सुनिश्चित हुने व्यवस्था रहेको भन्दै अव प्रतिशतलाई हटाएर समान सहभागीतामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । पहिले भन्दा मुलुकको अवस्था धेरै राम्रो भएको र पूर्ण रुपमा राम्रो बनाउनुपर्ने जिम्मेवारी आफुहरुसामु रहेको उहाले बताउनुभयो ।

ओलीले संविधान कानून निर्माणमा एमालेको अग्रणी भूमिका रहेको भन्दै महिला शसक्तिकरणका साथ सामाजिक न्याय र समानताको आन्दोलनमा सदैव अग्र स्थानमा नै रहने धारणा राख्नुभयो ।