महिला र पुरुष बीचका विभेद हटाउन तीनै तहका सरकार जिम्मेवार
काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महिला र पुरुषका बीचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ तीनै तहका सरकार क्रियाशील हुन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज (शुक्रबार) शुभकामना सन्देश जारी गर्नुहुर्दै राष्ट्रिय सङ्कल्पलाई साकार पार्न हरेक नागरिक, परिवार, सामाजिक सङ्घसंस्था पनि क्रियाशील हुनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
दिवसबाट सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिधित गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।
गृहिणी महिलाहरूको सशक्तीकरणमा जोड दिँदै राष्ट्रिय समृद्धि हासिल गर्न महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरण आवश्यक रहेको जिकिर गर्दै सुरक्षा, सम्मान र रोजगारीलाई साझा अभियानको रूपमा अघि बढाउन बागमती प्रदेश सरकार दृढ रहेको उहाँले विश्वास दिलाउनुभयो । विश्व समुदायले सङ्कल्पको रूपमा अघि बढाइएको दिगो विकासको लक्ष्य हासिल गर्नका लागि समाजमा विद्यमान कायम रहेका लैङ्गिक असमानताहरूलाई हरेक क्षेत्रबाट हटाउनुपर्ने उहाँको धारणा छ ।
नेपालको संविधानले लिएको समाजवाद उन्मुख नेपाली समाजको निर्माण गर्ने लक्ष्य हासिल गर्नका लागि हरेक नागरिकले सामाजिक न्याय प्रत्याभूत भएको महसुस गर्न सक्ने वातावरण गर्नु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
विश्वभरका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले अघि बढाइएको समाज रूपान्तरणको आन्दोलनले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिहरूलाई स्मरण गर्दै मुख्यमन्त्री जम्कट्टेलले महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्ति गर्नका लागि प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउँदै आइरहेको स्मरण गर्नुभयो ।