वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको कार्यकाल पूरा गर्छ : सांसद पौडेल
काठमाण्डौ । नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको चालु कार्यकाल पूरा गर्ने बताउनुभएको छ ।
आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको कार्यकाल पूरा गर्ने बताउनुभएको हो । उहाँले यो गठबन्धन कुनै स्वार्थको लेनदेनमा आधारित नभएको र कुनै अवसरको निम्ति पनि नगरिएको स्पष्ट पार्नुभयो ।
उहाँले जनता र राष्ट्रका समस्यालाई केन्द्रमा राखेर समाधान गर्ने उद्देश्यसहित सहयात्रा प्रारम्भ भएको बताउनुभयो। उहाँले विगतका अनुभवबाट शिक्षा लिएर सहयात्रा आरम्भ भएको भन्दै कुनै दुर्घटना नहुने बताउनुभयो । उहाँले गठबन्धनले सहयात्राको औचित्य स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
सांसद पौडेलले गठबन्धन परिवर्तन हुनुलाई स्वाभाविक संसदीय अभ्यासको रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले यो प्रक्रिया स्वाभाविक संसदीय अभ्यास र परम्परा रहेको बताउनुभयो । उहाँले संवैधानिक प्रबन्ध अनुरूप नै कदम चालिएको भन्दै सोही अनुरूप बुझ्न आग्रह गर्नुभयो । उहाँले एमाले सम्पूर्ण रूपले सरकारको साथमा रहने बताउनुभयो ।