‘कर्णाली महिला सम्मेलन’ लाई पूर्वराष्ट्रपति भण्डारीको सम्बोधन (पूर्णपाठ सहित)

वीरेन्द्रनगर । नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सोमबार आयोजित कर्णाली प्रदेश स्तरीय महिला सम्मेलनलाई सम्बोधन गर्नुभयो । वीरेन्द्रनगर नगरपालिकाद्वारा आयोजित सो सम्मेलनलाई सम्बोधन गर्नहुँदै पूर्वराष्ट्रपति भण्डारीले नेपालमा महिला अधिकारको क्षेत्रमा उल्ल्खनीय सुधार भएकोमा खुसी व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेशका अगुवा महिलाहरूले सम्मेलनमा देखाएको उत्साहजनक सहभागिताप्रति लक्षित गर्दै उहाँले भन्नुभयो “यो विशाल सहभागिताले महिला अधिकार र महिला सशक्तीकरणको क्षेत्रमा भएको उल्लेखनीय सुधारलाई सङ्केत गर्दछ ।”

तस्वीरः मीना भण्डारी


सम्बोधनको क्रममा भण्डारीले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) का अवसरमा महिला दिदी बहिनीहरूको सुख, शान्ति र समृद्धिको समेत कामना गर्नुभयो ।

सम्मेलनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट स्थानीय तह र प्रदेश स्तरका महिला जनप्रतिनिधिका साथै सामाजिक जीवनका विविध क्षेत्रका अग्रणी महिलाहरूको भव्य सहभागिता रहेको आयोजक वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया भण्डारी (ढकाल) ले बताउनु भयो ।

आइतबार साँझ सुर्खेत पुग्नु भएका पूर्व राष्ट्रपति भण्डारीले आजै वीरेन्द्रनगरस्थित महिला तथा बालबालिकाको लागि ५ शैयाको सुविधा सम्पन्न अस्पतालको उद्‌घाटन गर्नुभयो ।

सामाजिक जीवनमा क्रियाशील विभिन्न व्यक्ति तथा संघ संस्थाका प्रतिनिधिहरूसँगको भेटघाट पछि उहाँको मङ्गलबार बिहान काठमाण्डौं फर्कने कार्यक्रम रहेको छ ।

 

सम्माननीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति) ले वीरेन्द्रनगर नगरपालिकाद्वारा आयोजित कर्णाली प्रदेशस्तरीय महिला सचेतीकरण तथा सबलीकरणसम्बन्धी कर्णाली महिला सम्मेलनमा गर्नुभएको सम्बोधनको पूर्णपाठ

यस कार्यक्रमको अध्यक्षता गर्नु हुने वीरेन्द्रनगर नगरपालिका प्रमुख श्री मोहनमाया ढकाल (भण्डारी),

कर्णाली प्रदेशका सभामुख माननीय नन्दा गुरूङ,

प्रदेश सभाका संसदीय दलका नेताहरू,

प्रदेशका माननीय मन्त्रीहरू,

प्रदेशसभाका माननीय सदस्यहरू,

उपस्थित जनप्रतिनिधिहरू,

सञ्चारकर्मी मित्रहरू,

उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।

 

वीरेन्द्रनगर नगरपालिका, सुर्खेतद्वारा आयोजित ‘कर्णाली महिला सम्मेलन’मा सहभागी भई विचार आदानप्रदान गर्ने अवसरका लागि म आयोजक र सहभागीप्रति आभार प्रकट गर्दछु । सर्वप्रथम, ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ९८ मार्च० को पूर्वसन्ध्यामा आयोजित यस सम्मेलनको अवसरमा यहाँ उपस्थित सम्पूर्ण महिला दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्दछु । साथै, सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु ।

आजको यस ऐतिहासिक सम्मेलनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट स्थानीय तह र प्रदेश स्तरका महिला जनप्रतिनिधिका साथै सामाजिक जीवनका विविध क्षेत्रका अग्रणी महिलाहरूको भव्य सहभागिता रहेको छ । यस सम्मेलनमा भएको अगुवा महिलाहरूको यो विशाल सहभागिताले पनि नेपालमा महिला अधिकार र महिला सशक्तीकरणको क्षेत्रमा भएको उल्लेखनीय सुधारलाई सङ्केत गर्दछ । सामाजिक न्याय, महिला अधिकार र लैङ्गिक समानताका लागि भएका विभिन्न आन्दोलन‚ सामाजिक जागरण एवं सचेतना अभियानको परिणामस्वरुप हाम्रो देशमा महिला अधिकारको क्षेत्रमा उल्ल्खनीय सुधार भएको छ । खासगरी, २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका  अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरेपछि नेपाली महिलाको अधिकार सुनिश्‍चित गर्ने आधार निर्माण भएको थियो । उक्त ‘विशेष प्रस्ताव’लाई आधार मानेर २०७२ सालमा जारी भएको वर्तमान संविधानले नेपाली महिलाको समानताको हक, समानुपातिक सहभागिताको हक, प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार, महिलाविरुद्धको हिंसामा प्रतिबन्ध लगायत महिलाका आधारभूत अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । 

यसैगरी, संविधानमा नै महिलाको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरिनुका साथै आवश्यक नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थाहरू गरिएपश्चात मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायहरूमा महिलाको सहभागिता वृद्धि हुनुका साथै उनीहरूको भूमिका सुदृढ हुँदै गएको छ । यसरी नै शिक्षा, स्वास्थ्य, रोजगारी, सम्पत्तिमा स्वामित्व, श्रम सहभागिता लगायतका सूचकमा वृद्धि भई नेपालको समग्र लैङ्गिक विकास सूचकाङ्कमा समेत सुधार भएको छ । जसका कारण, आज महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धीहरू विश्व महिला आन्दोलनकै निम्ति उदाहरणीय बनेका छन् । यसरी, हालसम्म प्राप्त उपलब्धीहरूको रक्षा गर्दै संविधान प्रदत्त महिला अधिकारको कार्यान्वयनका साथै पूर्ण लैङ्गिक समानता प्राप्तिको अभियानलाई हामीले जारी राख्नु पर्दछ । 

 महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङगिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिइन्छ । लैङ्गिक समानताको अभिप्राय समान अधिकारका साथै परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु हो । लैङ्गिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले महिला सशक्तीकरणका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेको कुरालाई मैले सधैँ जोड दिँदै आएको छु र दिन चाहन्छु ।

महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई मुलुकको विकास प्रक्रियामा सदुपयोग गरी स्रोत, साधन र अवसरमा समान पहुँचको माध्यमबाट संविधानले परिलक्षित गरेको लैङ्गिक समानताको उद्देश्य हासिल गर्न सकिन्छ । नीति निर्माण एवं निर्णय प्रकियामा महिला सहभागिता अभिवृद्धि गर्दै आर्थिक सशक्तीकरणका माध्यमबाट सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्न सबैको सामुहिक क्रियाशीलताका लागि म आह्वान गर्दछु ।

विभिन्न नीतिगत एवं कार्यक्रमिक प्रयासहरू भएता पनि लामो समयदेखि समाजमा विद्यमान पुरातन सोचका कारण महिलाहरू सामाजिक‚ सांस्कृतिक‚ शैक्षिक‚ राजनीतिक एवं आर्थिक रूपमा अझै पछाडि छन् । हाम्रो समाजमा बालविवाह‚ बहुविवाह‚ दाइजो तथा तिलक प्रथा‚ छाउपडी‚ बोक्सीको आरोप जस्ता महिलाद्वेषी सामाजिक सांस्कृतिक प्रथा र परम्पराका साथै हत्या र बलात्कार जस्ता जघन्य हिंसा आजको परिवेशमा समेत कायमै रहेका छन् । यसको निराकरणका निम्ति कानुनको प्रभावकारी कार्यान्वयन‚ आवश्यकताअनुसार कानुनमा सुधार‚ अभिभावक‚ शैक्षिक संस्थाका साथै कार्यथलोका व्यवस्थापक‚ सञ्चालक लगायत सरोकारवाला बिच व्यापक रूपमा सचेतनामूलक अभियान सञ्चालन गर्नु आवश्यक  छ । यसका साथै महिलाको शैक्षिक एवं आर्थिक सशक्तीकरणका साथै समग्र समाजको सांस्कृतिक रूपान्तरणका लागि समेत हामी सबैले निरन्तर प्रयास जारी राख्नु पर्दछ  । 

यस प्रदेशको अधिकांश भाग अग्ला पहाड र हिमालले ढाकेको हुनाले भौतिक पूर्वाधार विकासमा तुलनात्मक रूपमा पछाडि परेको भएतापनि भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा तथा प्राकृतिक स्रोत र साधनले सम्पन्न रहेको छ । कर्णालीको आभूषणको रूपमा रहेका से—फोक्सुन्डो, राराताल, नेपाली भाषाको उद्‍गम स्थल तथा प्राचीन खस साम्राज्यको राजधानीको रूपमा रहेको जुम्लाको सिंजा उपत्यका, कालिकोटको रास्कोट, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पाचाल झरना आदि कर्णालीको मात्र नभै सिङ्गो नेपालकै अमूल्य प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरू हुन् । यहाँको अथाह जैविक विविधताको उपयोग र पर्यटन प्रवर्द्धन गर्न सक्दा कर्णाली एक समुन्नत प्रदेशमा रुपान्तरण हुन सक्दछ । गुणस्तरीय शिक्षा, सामाजिक चेतना तथा जागरण, सूचना एवं सञ्चार, विज्ञान तथा प्रविधि र यातायातको विस्तार हुँदै जाँदा यस क्षेत्रले समृद्धिको फड्को मार्ने निश्चित छ । तसर्थ, यहाँको भौगोलिक विकटतालाई चिर्नका लागि पुल, सुरूङ मार्ग र  केवलकार जस्ता विद्युतीय उर्जामा आधारित आधुनिक यातायात सञ्जालको विकास गर्नु आवश्यक छ । 

संविधान र कानुनले सुनिश्चित गरेका महिला अधिकार एवं नागरिकका मौलिक हकहरूको कार्यान्वयनका लागि मुलुकको अर्थतन्त्र सुदृढ हुन आवश्यक छ ।  यसका लागि मुलुकमा उपलब्ध स्रोत र साधनमा आधारित उद्योगको विकास मार्फत स्वदेशी उत्पादनमा वृद्धि गरी सुदृढ एवं आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास आजको अपरिहार्य आवश्यकता बनेको छ । 

गएको कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दू भई गएको विनाशकारी भूकम्पबाट बेघर बन्न पुगेका प्रभावितहरूमध्ये सुत्केरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै उनीहरूको यथाशीघ्र पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई गति प्रदान गर्न म सम्बन्धित सबैको ध्यान आकृष्ट गर्न चाहन्छु । हाम्रो देश नेपाल भूकम्पीय दृष्टिकोणबाट उच्च जोखिम भएको क्षेत्रमा पर्ने हुनाले जोखिम न्यूनीकरणका लागि पूर्वतयारीका साथै भूकम्पलाई थेग्न सक्ने भौतिक संरचनाको निर्माणलाई विशेष प्राथमिकता दिनु पर्दछ ।  

वीरेन्द्रनगर नगरपालिकाद्वारा सञ्चालनमा ल्याइएको ‘महिला तथा बाल अस्पताल’बाट यस क्षेत्रका महिला तथा बालबालिकाको स्वास्थ्यमा उल्लेखनीय योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु । 

अन्तमा, यो सम्मेलनमा यस क्षेत्रका अग्रणी महिलाहरू बिच हुने रचनात्मक छलफल र अन्तरक्रियाबाट नयाँ जोस र सोचका साथ महिला सशक्तीकरणका साथै कर्णाली प्रदेशको समग्र विकासका लागि डटेर काम गर्न थप उर्जा प्राप्त होस् भन्ने कामना गर्दै  ‘कर्णाली महिला सम्मेलन’को पूर्ण सफलताको कामना गर्दछु ।

धन्यवाद ।

२०८० फाल्गुण २१ गते, सोमबार ।