सत्ता गठगबन्धनले ट्रेड युनियन आन्दोलनलाई छिन्नभिन्न पार्दैछः जिफन्ट अध्यक्ष श्रेष्ठ (भिडियो)
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले वर्तमान सत्ता गठबन्धनले एकीकृत ट्रेड युनियन आन्दोलनलाई छिन्नभिन्न पार्ने कामको थालनी भएको आरोप लगाउनु भएको छ । नेपाली ट्रेड युनियन आन्दोलन ( मार्च ४ मुभमेण्ट) को ७७ वर्ष पुरा भएको उपलक्ष्यमा भोली (फागुन २१ गते) आयोजना हुने स्थापना उत्सवबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले सत्ता गठबन्धनको आलोचना गर्नु भएको हो ।
२००३ साल फागुन २१ गते तत्कालीन वामपन्थी नेता मनमोहन अधिकारी र नेपाली काङ्ग्रेसका नेता गिरीजाप्रसाद कोइरालाले नेपालमा पहिलो संगठित ट्रेड युनियन आन्दोलनको सुरुवात गर्नुभएको स्मरण गर्दै जिफन्ट अध्यक्ष श्रेष्ठले श्रमिक आन्दोलनको त्यो ऐतिहासिक एकता छिन्नभिन्न गर्ने काम भएकोमा दुःख व्यक्त गर्नुभयो ।
पत्रकारहरू माझ बोल्दै श्रेष्ठले भन्नुभयो ‘राणा र पञ्चायत विरूद्ध श्रमिकहरूले मिलेर लडे । तर २०४६ सालको बहुदलीय व्यवस्थापछि राजनीतिक अभिष्ट पुरागर्न ट्रेड युनियनहरू धमाधम खुल्न थाले । यसले श्रमिकको वर्गीय मुद्धा भन्दा राजनीतिक हिसाबले विभाजित गराउने काम भएको छ ।”
जिफन्ट स्थापनाकालदेखिनै ‘एक वर्ग-एक सङ्गठन, एक क्षेत्र एक युनियन’ को पक्षमा रहेको दाबी गर्दै अध्यक्ष बिनोद श्रेष्ठले भन्नु भयो ‘थुप्रै प्रयासका बाबजुद ट्रेड युनियनहरूलाई एक ठाउँमा ल्याउन ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) स्थापना गरेका छौं । तर त्यसमाथी पनि प्रहार गरेर ‘विबिधतामा एकता’ को नारा मेटाउन खोजिदैछ ।”
जिफन्टले नेपाली ट्रेड युनियन आन्दोलनको स्थापनाको दिनको स्मरण गर्दै अव उप्रान्त फागुन २१ को दिनलाई मजदुरहरुको महान चाडको रुपमा मनाउने घोषणा पत्रकार सम्मेलनमा गरेको छ ।
भोली सोमबार पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ‘नेपाली ट्रेड युनियन आन्दोलनको ७७ औं वार्षिकोत्सव कार्यक्रम आयोजना गर्न लागिएको जिफन्ट महासचिव लक्ष्मण शर्माले बताउनु भयो । शर्माका अनुसार भोली बिहान ११ बजे काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम आयोजन हुँदैछ ।
‘श्रमिकहरू, ट्रेड युनियन आन्दोलनका सहयात्रीहरू, राजनीतिक दलका प्रतिनिधि, अन्तराष्ट्रि श्रम सङ्गठनका प्रतिनिधी सहित १६ भन्दा बढी अन्तराष्ट्रिय ट्रेड युनियन प्रतिनिधिहरूको उपस्थितिमा ७७ औं वार्षिकोत्सव मनाउँदैछौं” महासचिव शर्माले बताउनु भयो ।
पत्रकार सम्मेलनको भिडियो