देशभरको मौसममा बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । जसको प्रभावले अहिले बिहान देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । त्यस्तै, काठमाण्डौमा छिटपुट वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।
यस्तै, कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।