१६ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्ने
काठमाण्डौ । १६ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । \
खेल दिउँसो ३ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ ।
सन् २०२२ मा बङ्गलादेशमा भएको प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो । हिजोदेखि शुरु भएको प्रतियोगितामा भारतले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा भारतले भुटानलाई ७–० गोलको फराकिलो अन्तरले हरायो ।
सिङ्गल राउन्डमा हुने प्रतियोगितामा सहभागी हरेक टोलीले एक–आपसमा खेल्नेछन् । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी छन् । नेपाल प्रतियोगिताको साविक विजेता हो ।
लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा खेलिन लागेको हो ।
फाइनल खेल यही फागुन २७ गते हुनेछ ।