नेपालले बहराइनसँग घरेलु मैदानमा खेल्न नपाउने
काठमाण्डौ । फिफा विश्वकप २०२६ एसियाली छनोटअन्तर्गत नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रङ्गशालामा नहुने भएको छ ।
केही हप्ताअघि एसियाली फुटबल महासङ्घ (एएफसी) को प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरेका थिए । रङ्गशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि अनुपयुक्त देखिएपछि नेपालले बहराइनसँग घरेलु मैदानमा खेल्न नपाउने भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज (शुक्रबार) विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
विश्वकप छनोटका खेल ‘होम’ एण्ड ‘अवे’ का आधारमा हुने नियम छ । सोही नियमअनुसार पहिलो लेग चैत ८ गते नेपालमा र दोस्रो लेग चैत १३ गते बहराइनमा हुनुपर्ने थियो । तर मैदानको अवस्थाका कारण नेपालले घरेलु मैदानमा खेल्न नपाउने भएको हो ।
अब नेपाल र बहराइनले खेल्ने पहिलो लेगको ठाउँबारे छिट्टै जानकारी दिने एन्फाले जनाएको छ । केही हप्ताअघि एसियाली फुटबल महासङ्घ (एएफसी) को प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरेका थिए ।