प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग
काठमाण्डौ । प्रतिनिधिसभाको आज (शुक्रबार) बसेको बैठकमा नेकपा (एमाले)का सांसद रघुजी पन्तले ‘द पायोनियर’ पोर्टलमा ‘इन्डिया इज अन द राइट ट्रयाक इन नेपाल’ भनेर लेखेको लेखमा परराष्ट्र मन्त्रालय नबोलेको भन्दै आपत्ति जनाउनुभएको छ ।
उहाँले अशोक मेहताले फेब्रुअरी २७ मा लेखेको उक्त लेख नेपाल र नेपालीका लागि आपत्तिजनक र अपमानजनक रहेको बताउनुभयो । उक्त लेखमा चीनले स्तम्भ रहेको ठाउँमा नेपालको सिमाना मिचेको भनी लेखिँदा समेत परराष्ट्र मन्त्रालय मौन बसिरहेको बताउनुभयो ।
लेखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत चढ्नका लागि उपयुक्त पात्र भएको र कांग्रेस सभापति शेरबहादुर देउवा तबेलामा राखेको घोडा हुन् भन्ने लेखिँदासमेत परराष्ट्र मन्त्रालय र पार्टी नबोलेकोप्रति आपत्ति जनाउनुभयो ।
सांसद पन्तले प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयमार्फत् खण्डन गर्न नसक्ने भए पद छाड्नुपर्ने पनि बताउनुभएको छ ।