काठमाण्डौ महानगरपालिकाभित्रका सार्वजनिक ठाउँहरूमा भित्तेचित्र बनाइने

काठमाण्डाै।  काठमाण्डौ महानगरपालिकाभित्रका सार्वजनिक ठाउँहरूको सुन्दरताका लागि भित्तेचित्र बनाइने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबीच सम्झौता भएको छ । विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप–प्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताबमोजिम स्वीकृत भएका डिजाइन र ठाउँहरूमा प्रतिष्ठानले भित्तेचित्र बनाउनेछ । यो काम आउँदो वर्षको जेठ मसान्तसम्ममा सम्पन्न हुनेछ । भित्तेचित्र बनाउन प्रतिष्ठानले ठाउँ र क्षेत्रफलसहितको कार्ययोजना पेस गर्नेछ । स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ ।

चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरूसँग सम्झौता गरेर काम लगाउन सक्नेछ । यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्याङ्कन गर्ने, भुक्तानी दिने, जवाफदेहिता वहन गर्ने दायित्व प्रतिष्ठानकै हुनेछ । यसका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

विभागकाअनुसार पहिलो चरणमा माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, प्रदर्शनी मार्गका भित्ता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको क्षेत्र, बानेश्वर क्षेत्र, मीनभवनको भित्ता, लैनचौरमा रहेको समाज कल्याण परिषद्को भित्ता चित्र बनाउनका लागि स्वीकृत भएका छन् ।