गठबन्धन खरानीको डल्लो हो, सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छः ओली

काठमाडाैँ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनै पनि बेला फुट्न सक्ने बताउनु भएको छ ।

सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उहाँले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गर्नू भएको हो ।

बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफूहरुले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोपसमेत लगाउनु भयो ।

ओलीले सत्तारुढ प्रमुख घटक कांग्रेस प्रतिगामी सोचसाथ अघि बढिरहेको जिकिर पनि गर्नू भएको हो ।  उहाँले कांग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरे पनि सम्भव नभएको बताउनुभयो । कांग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको ओलीको भनाइ थियो।

ओलीले कांग्रेसले प्रतिगामी सोच राखेकाले एमालेले सहयोग गर्ने कुनै पनि ठाउँ नरहेको बताउनुभयो ।

उहाँले गत पुस १३ गते भएको बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई लक्षित गर्दै मन्त्रीको कारण जनताको मृत्यु भएको  अवस्थामा सरकारका मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गर्नू भएको हो ।