रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग नेपालको हार

काठमाण्डौ । दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे पनि नेपाल त्रिकोणीय टी २० सिरिजको दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

अन्तिम ओभरमा नेपाललाई १५ रन चाहिएको अवस्थामा नेदरल्यान्ड्सका रोइले भान डेरले मात्र १२ रन दिएर दीपेन्द्रसिंह ऐरीको विकेट लिए । जसका कारण नेपाल ३ रनले पराजित हुन पुगेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले १८५ रनको लक्ष्य दिएको थियो । नेपालले ८ विकेट गुमाएर १८२ रन मात्र बनाउन सक्यो । प्रतिशत जीसीले अन्तिम दुई बलमा चार रन बनाउनुपर्ने बेला उनले पहिलो बल डट खेले भने अन्तिम बलमा लेगबाइबाट एक रन मात्र आयो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ६३ रन बनाए । उनले ६ चौका र तीन छक्का प्रहार गरेका थिए । यस्तै कप्तान रोहित पौडेलले ३६ बलमा ५० रन बनाएका थिए ।

सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।