नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्षको विषयअध्ययन गरी टुङ्गो लगाउने

काठमाडौं । नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्षको विषयमा अध्ययन गरी टुङ्गो लगाउन महासङ्घका अध्यक्षसहित नेतृत्व गणले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष गजुर्धन राईको नेतृत्वमा आज महासङ्घ पुगेको टोलीबाट अल्टिमेटमसहितको स्मरणपत्र बुझ्दै अध्यक्षसहित पदाधिकारीले सो प्रतिबद्धता जनाउनुभएको हो । महासङ्घको इतिहास र संस्थापक विषयमा लामो समयदेखि बहस हुँदैआएकाले त्यसको टुङ्गो लगाउनेगरी आवश्यक पहल गरिने पदाधिकारीहरूको प्रतिबद्धता छ ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलले इतिहास सही या गलत के हो भन्ने विषयमा विज्ञहरूसहितको टोलीबाट अध्ययन गराई टुङ्गो लगाउँदा न्यायपूर्ण हुने भन्दै उहाँले त्यसकालागि महासङ्घले तत्काल पहल लिने बताउनुभयो । ‘संस्थापकको विषयको अध्ययन छिटो होस् र एउटा टुङ्गोमा पुग्न सकियोस् भन्ने हाम्रो पनि चाहना हो, त्यसका लागि एकाडेमिक अध्ययन गराएर अघि बढ्नुपर्छ’ अध्यक्ष पोखरेलले भन्नुभयो ।

महासङ्घको फागुन १९ गते बैठक रहेकाले त्यसमा सो विषय प्रवेश गराई छलफल गराउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । त्यस विषयमा विधि निर्माण गरी अघि बढ्न आवश्यक रहेकाले सबैको सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो ।

फोनिजका अध्यक्ष गजुर्धन राईले महासङ्घको इतिहासलाई अनदेखा गर्नु दुःखद भएको भन्दै त्यसलाई उपयुक्त तवरबाट करेक्सन गरी अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । ‘महासङ्घको इतिहास र संस्थापकको विषयलाई खण्डित र विभाजित नबनाऔँ, यसले समस्या पारिरहन्छ’ अध्यक्ष राईले भन्नुभयो, “दसी प्रमाणको आधारमा यसको अध्ययन गरी टुङ्गो लगाऊँ, इतिहास सच्याउने यो नेतृत्वलाई अवसर पनि हो ।’

महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले फोनिजको सुझाव र मागअनुसार महासङ्घले अध्ययन समिति बनाएर इतिहास र संस्थापकबारे टुङ्गो लगाउन तयार रहेकाले दबाबको कार्यक्रम नगर्न उहाँले फोनिजलाई आग्रह गर्नुभयो । महासङ्घ महाधिवेशनको सङ्घारमा रहेकाले आन्दोलन, तालाबन्दीजस्ता गतिविधि फोनिजले गर्न नहुने उहाँले आग्रह गर्नुभयो । सो विषयमा महासङ्घ सचेत रहेकाले चाँडै अध्ययन समिति गठन गरेर अघि बढ्ने उहाँको प्रतिबद्धता छ ।

महासङ्घका महासचिव रोशन पुरीले तथ्यलाई कसैले पनि तोडमोड गर्न नमिल्ने भएकाले त्यसबारे अध्ययन गराएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । अध्ययन समिति बनाएर त्यसबारे निक्र्यौलमा पुग्नेगरी काम गर्न महासङ्घ तयार रहेकाले सङ्घर्षका कार्यक्रम फिर्ता लिन उहाँले फोनिजसँग आग्रह गर्नुभयो ।

सो अघि फोनिजका अध्यक्ष राईले महासङ्घका अध्यक्ष पोखरेललाई सात दिने अल्टिमेटमसहितको स्मरणपत्र हस्तान्तरण गर्नुभयो । फोनिजको मागअनुसार एक सातामा संस्थापक विषयमा प्रक्रिया सुरु नभए केन्द्रसहित देशव्यापी महासङ्घको कार्यालयमा तालाबन्दी गर्ने अध्यक्ष राईले चेतावनी दिनुभयो । सो अवसरमा फोनिजका पदाधिकारी तथा नेवा राष्ट्रिय दवुका अध्यक्षसहित पदाधिकारीहरूको सहभागिता थियो ।

फोनिजले आज केन्द्रसहित महासङ्घको सबै जिल्लामा अल्टिमेटमसहितको स्मरणपत्र महासङ्घ पदाधिकारीहरूलाई बुझाएको छ । संस्थापक विषयलाई प्रक्रियाअनुसार टुङ्गो नलाए कडा आन्दोलन गर्ने फोनिजले चेतावनी दिंदैआएको छ ।

लिखत र तथ्याङ्कले नेपाल पत्रकार महासंघको स्थापना वि.सं. २००८ साल वैशाख ९ गते भएको फोनिजको भनाइ छ । महासंघले वि.सं. २०१२ चैत १६ गतेलाई स्थापना दिवस मनाउँदैआएको छ । २००८ साललाई कायम गर्न  फोनिजले माग गर्दैआएको छ ।

वार्तामा आउन आग्रह

महासङ्घका महासचिव रोशन पुरीले आज फोनिजलाई पत्र लेख्दै वार्ताको माध्यमबाट समस्या समाधानका लागि आग्रह गर्नुभएको छ । फोनिजको अल्टिमेटमसहितको स्मरणपत्रले महासङ्घको गम्भीर ध्यानाकर्षण भएको भन्नुहुँदै उहाँले वार्ता र संवादमा आउन फोनिजलाई आग्रह गर्नुभएको छ ।

महासचिव पुरीद्वारा जारी पत्रमा लेखिएको छ, “यो विषयलाई वार्ता र संवादमार्फत निश्चित विधि तय गरी टुङ्ग्याउनुपर्ने महासङ्घको निष्कर्ष छ । अतः घोषित आन्दोलनको कार्यक्रम फिर्ता लिई वार्तामा आउनका लागि हार्दिक अनुरोध छ ।”