संस्थापक विषयमा टुङ्गो लगाउने नेपाल पत्रकार महासंघको प्रतिवद्धता

काठमाण्डौ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयमा अध्ययन गरी टुङ्गो लगाउन महासंघका अध्यक्षसहित नेतृत्व गणले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुर्धन राईको नेतृत्वमा आज महासंघ पुगेको टोलीबाट अल्टिमेटमसहितको स्मरणपत्र बुझ्दै अध्यक्षसहित पदाधिकारीले सो प्रतिवद्धता जनाउनुभएको हो । महासंघको इतिहास र संस्थापक विषयमा लामो समयदेखि वहस हुँदैआएकाले त्यसको टुङ्गो लगाउनेगरी आवश्यक पहल गरिने पदाधिकारीहरुको प्रतिवद्धता छ ।

महासंघका अध्यक्ष बिपुल पोखरेलले इतिहास सही या गलत के हो भन्ने विषयमा विज्ञहरुसहितको टोलीबाट अध्ययन गराई टुंगो लगाउँदा न्यायपूर्ण हुने भन्दै उहाँले त्यसकालागि महासंघले तत्काल पहल लिने बताउनुभयो ।

महासंघको फागुन १९ गते बैठक रहेकाले त्यसमा सो विषय प्रवेश गराई छलफल गराउने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । त्यस विषयमा विधि निर्माणगरी अघि बढ्न आवश्यक रहेकाले सबैको सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो ।
फोनिजका अध्यक्ष गजुर्धन राईले महासंघको इतिहासलाई अनदेखा गर्नु दुःखद भएको भन्दै त्यसलाई उपयुक्त तवरबाट करेक्सन गरी अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले फोनिजको सुझाव र मागअनुसार महासंघले अध्ययन समिति बनाएर इतिहास र संस्थापकबारे टुङ्गो लगाउन तयार रहेकाले दबाबको कार्यक्रम नगर्न फोनिजलाई आग्रह गर्नुभयो । महासंघ महाधिवेशनको संघारमा रहेकाले आन्दोलन, तालाबन्दीजस्ता गतिविधि फोनिजले गर्न नहुने उहाँको तर्क थियो । सो विषयमा महासंघ सचेत रहेकाले चाँडै अध्ययन समिति गठन गरेर अघि बढ्ने उहाँको प्रतिवद्धता छ ।

महासंघका महासचिव रोशन पुरीले तथ्यलाई कसैले पनि तोडमोड गर्न नमिल्ने भएकाले त्यसबारे अध्ययन गराएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । अध्ययन समिति बनाएर त्यसबारे निक्र्यौलमा पुग्नेगरी काम गर्न महासंघ तयार रहेकाले संघर्षका कार्यक्रम फिर्ता लिन उहाँले फोनिजसँग आग्रह गर्नुभयो ।

यसअघि फोनिजका अध्यक्ष राईले महासंघका अध्यक्ष पोखरेललाई सात दिने अल्टिमेटमसहितको स्मरणपत्र हस्तान्तरण गर्नुभएको थियो । फोनिजको मागअनुसार एक सातामा संस्थापक विषयमा प्रक्रिया सुरु नभए केन्द्रसहित देशव्यापी महासंघको कार्यालयमा तालाबन्दी गर्ने अध्यक्ष राईले चेतावनी दिनुभयो । सो अवसरमा फोनिजका पदाधिकारी तथा नेवा राष्ट्रिय दवुका अध्यक्षसहित पदाधिकारीहरुको सहभागिता थियो ।

फोनिजले आज (मंगलबार) केन्द्रसहित महासंघको सबै जिल्लामा अल्टिमेटमसहितको स्मरणपत्र महासंघका पदाधिकारीहरुलाई बुझाएको छ । संस्थापक विषयलाई प्रक्रियाअनुसार टुङ्गो नलगाए कडा आन्दोलन गर्ने फोनिजले चेतावनी दिंदैआएको छ ।