संसदमा विपक्षी दलहरुको नाराबाजी, संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेका छन् ।

विवादित तीन मन्त्रीको राजीनामा माग्दै एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले नाराबाजी गरिरहेका हुन्।

अवरोध गर्नुअघि एमालेको तर्फबाट सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहोर्‍याउनुभएको हो । उहाँले प्रधानमन्त्रीले आजै संसद्मा जवाफ दिनुपर्ने बताउनुभयो।

राप्रपाले पनि बालकुमारी घटनासहित मिटरब्याजपीडित र दूध उत्पादक किसानको समस्या समाधान समाधान गर्न सरकारको ध्यानाकर्षण जनाएको छ।

यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत विपक्षी दलकाे अवरोधका कारण आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले विभिन्न विषय उठाउँदै होहल्ला र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे।

सभामुख घिमिरेले सदन सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गरेका थिए। सभामुखको आग्रहका बाबजुद सांसदहरू आसनबाट उभिइरहेपछि उनले बैठक स्थगित गरेका हुन्।