मिटरब्याजपीडित र सरकारबीच आज वार्ता हुँदै
काठमाण्डौ । आन्दोलनरत मिटरब्याजपीडित र सरकारबीच आज वार्ता हुँदैछ । दुवै पक्षले वार्ता टोली गठन गरेसँगै आज बिहान ११ बजे वार्ता हुन लागेको हो ।
हिजो सरकारले गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोलीे गठन गरेपछि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले पनि अवधेश कुशवाहाको नेतृत्वमा ९ सदस्य वार्ता टोली गठन गरेको छ ।
सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनका अनुसार हिजो सरकारी वार्ता टोली र मिटरब्याजको ठगीविरुद्ध किसान मजदूर सङ्घर्ष समिति बीचमा औपचारिक भेटघाट तथा परिचय भएको छ । यसअघि मिटरब्याजपीडितसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरु पुनः न्याय माग्दै विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाण्डौ आइपुगेका हुन् ।
यसअघि गएको वर्षको चैत २ गते मिटरब्याजपीडितलाई न्याय दिलाउन भनेर एक टोली ११ दिनको पैदल यात्रापछि काठमाण्डौ आएको थियो । काठमाण्डौमा झण्डै एकहप्ता आन्दोलन गरेपछि सरकार र मिटरब्याजपीडितबीच चैत १८ गते पाँच बुँदे सहमति भएको थियो ।
सहमति अनुसार सरकारले आयोग गठन गर्यो । झण्डै २८ हजार उजुरी परेकोमा ५ हजार उजुरीमा मिलापत्र पनि भयो । तर, पनि मिटरब्याज पीडितको आन्दोलन अझै रोकिएको छैन ।