तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउने प्रधानमन्त्री प्रचण्डको भनाइ

काठमाण्डौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ ।

आज (शनिबार) बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभएको हो ।

नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट विनियोजन गरिने बताउनुभयो । साथै पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पुरै जोड रहको पनि उहाँले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्रीले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराउनुभयो । अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्ने उहाँको भनाइ छ ।

आगामी मन्त्रिपरिषद बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयक प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयक पारित गराउन सांसदलाई प्रधानमन्त्रीले निर्देशनसमेत दिनुभएको छ ।