शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता : उपकुलपति बराल

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले विश्वविद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयन आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

हिजो नियुक्तिपछि उहाँले शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने बताउनुभयो ।

यस्तै विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफ्नो योजना रहेको उहाँको भनाइ छ । छनोट प्रक्रियाबाट छानिएका तीनजनामध्ये दोस्रो नम्बरमा रहेका बराललाई विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।

यसअघि धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि कात्तिक १७ गतेदेखि उपकुलपति पद रिक्त थियो । त्रिविले दरखास्त आह्वान गरेपछि उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए ।

छनोट प्रक्रिया शुरु भएपछि समितिले १४ जनाको ‘सर्टलिस्ट’ सार्वजनिक गरेको थियो । त्यसबाट पनि आइतवार उत्कृष्ट तीनजनाको नाम सिफारिस गरिएको थियो । तीन जनामध्येबाट दोस्रो नम्बरमा रहेका बराललाई प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्नुभएको हो ।