देशको अर्थव्यवस्था सीमित व्यक्तिको हातमा गएको छ : सांसद भण्डारी

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशको गलत आर्थिक नीतिका कारणले गर्दा अर्थव्यवस्था सीमित व्यक्तिहरुको हातमा गएको बताउनुभएको छ ।

आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद भण्डारीले देशको आर्थिक नीति गलत भएको बताउनुभएको हो । उहाँले गलत आर्थिक नीतिका कारण देशको समग्र अर्थव्यवस्था नै केही सीमित व्यक्तिहरुको हातमा पुगेको बताउनुभयो ।

उहाँले एकै व्यक्तिको हातमा बैंक, उद्योग, बिमा, अस्पताल, विद्यालय, जलस्रोतको लाइसेन्सलगायत सबै कुरा रहेको भन्दै यसले अर्थतन्त्र सीमित व्यक्तिको कब्जामा पुर्‍याएको जिकिर गर्नुभयो ।

सांसद भण्डारीले विकास निर्माणका कामहरु पनि लथालिङ्ग रहेको र काम नहुँदा कानुनी कारबाहीसम्म नहुने अवस्थामा रहेको उल्लेख गर्नुभयो । उहाँले अर्थव्यवस्थाको सम्बन्धमा संवेदनशील हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

सांसद भण्डारीले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पारित गरिएको लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूभाग समेटिएको चुच्चे नक्सा परराष्ट्र मन्त्रालयको दराजबाट बाहिर निस्किन नसकेको बताउनुभयो । उहाँले नेपालभित्र नेपाली खोज्नुपर्ने र चिन्नुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो ।

सांसद भण्डारीले किसानको नाममा अनुदान अरुले नै खाने गरेको भन्दै तिनीहरुलाई के गर्ने भनेर प्रश्नसमेत गर्नुभयो । उहाँले नेपाली कपडामात्र लगाउने नीति बनाउन सके राज्यको अर्बाैं रुपियाँ बच्ने बताउनुभयो ।