अमेरिका पठाइदिने प्रलोभनमा बन्धक बनाउने ९ जना समातिए

काठमाण्डौ । भारतीय नागरिकलाई अमेरिका पठाउने भन्दै काठमाण्डौमा बन्धक बनाएर राखेको आरोपमा ८ भारतीय र १ नेपालीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौ प्रहरीले आज (बिहीबार) ती नौजनाले बन्धक बनाएर राखेका ११ जना भारतीय नागरिकको पनि उद्धार गरेको छ ।

अमेरिका पठाइदिने भन्दै काठमाण्डौको एक घरमा बन्धक बनाएर परिवारका सदस्यबाट थप पैसा मगाउन लगाउने र कुटपिट तथा यातनासमेत दिने गरिएको प्रहरीले जानकारी दिएको छ ।

काठमाण्डौ प्रहरी परिसरका प्रमुख भूपेन्द्र खत्रीका अनुसार भारतीय नागरिक इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा पक्राउ गरेका हुन् । नेपाली नागरिकको नाम भने खुलाइएको छैन । यीमध्ये यादव यसका प्रमुख योजनाकार हुन् ।

पक्राउ परेका ती भारतीयहरुले अमेरिका पठाउन एक जनाको ४० लाख भारतीय रुपैयाँ लाग्ने भन्दै घरबाट पैसा मगाउने गरेको प्रहरीले जानकारी दिएको छ ।

मेक्सिकन भाषा, समय, संस्कृति, सङ्गीत आदिसँग मिल्ने खालको कृत्रिम वातावरण सृजना गरी विश्वासमा लिने गरेको अनुसन्धानबाट खुलेको छ ।