पाल्पा जिप दुर्घटना अपडेट : घाइतेको संख्या १८ पुग्यो

पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

आज (मंगलबार) बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटनाका मृतक र घाइते अधिकांश चिदिस गाउँका रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो ।

अत्यधिक लोडका कारण दुर्घटना भएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो । क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले थाम्न नसक्दा ब्याक भएर दुर्घटना भएको उहाँको भनाइ छ। मृतकको पहिचान गर्ने कार्य भइरहेको छ भने घाइतेको प्रभावकारी उपचारका लागि अस्पतालसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको तिनाउ ६ का वडा अध्यक्ष टोमबहादुर पुनले जानकारी दिनुभयो । घाइते र मृतकको उद्धार गरिएको उहाँले बताउनुभयो ।