त्रिविका निमित्त उपकुलपतिलाई तत्काल पदबाट हटाउन सांसद सुमना श्रेष्ठको माग
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को निमित्त उपकुलपति प्रा. डा. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गर्नुभएको छ ।
आज (सोमबार) प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैँ उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उहाँलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गर्नुभयो ।
उहाँले निमित्त उपकुलपति भुसालले भागवण्डा गर्ने हिसाबले त्रिविमा आफ्नो गतिविधि बढाएको भन्दै त्यस्ता व्यक्ति त्रिविको उपकुलपति हुन लायक नहुने दाबी समेत गर्नुभयो । उहाँको नाम त्रिविको उपकुलपति क्यान्डिडेटको सर्ट लिस्टबाट पनि हटाउनुपर्ने सांसद श्रेष्ठको भनाइ थियो ।
सांसद श्रेष्ठले राजनीतिक भागबण्डाको आधारमा विश्वविद्यालयको गतिविधि गर्ने कुरा कानुन सम्मत नहुने भएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।