रामग्राम क्षेत्रको जग्गा निजी कम्पनीलाई सुम्पिने सबै प्रक्रिया रद्द गर्न लेखा समितिको निर्देशन

काठमाण्डौ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नवलपरासीको रामग्राम क्षेत्रमा उत्खनन एवम् बौद्ध स्तूपा निर्माण गर्न विना प्रतिस्पर्धा निजी कम्पनीलाई सुम्पिने गरी भएका सबै प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ ।

गौतमबुद्धको अस्थिधातु समाधिस्थ गरिएको रामग्राम क्षेत्रको एक सय २० बिघा जग्गा निजी कम्पनीलाई सुम्पिने प्रक्रिया रद्द गर्न लेखा समितिले निर्देशन दिएको हो ।

लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रका स्थानीयवासीको एक सय १६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी समझदारी गरेको थियो । समितिको आजको बैठकले निर्णय प्रक्रियामा सामेल व्यक्तिमाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ ।