एकान्त ठाउँमा पार्किङ नगर्न ट्राफिक प्रहरीको अनुरोध

काठमाण्डौ । नेपाल प्रहरीले हराएका २ सय ५२ वटा मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । हराएका ती मोटरसाइकल चालु आर्थिक वर्षको ६ महिनामा फेला पारेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार अस्ति शुक्रवार मात्रै पनि १७ वटा दुईपाङ्ग्रे गाडी खोजी गरी ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ । यसमा १४ वटा मोटरसाइकल र तीनवटा स्कुटर रहेका छन् ।

चालु आर्थिक वर्षमा अहिलेसम्म चोरीका २० गाडीसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालिमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बूढानीलकष्ठ, चुनदेवी, फर्पिङ र नयाँबसपार्कलगायतका ठाउँमा दुईपाङ्ग्रे साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आफ्नो सवारीसाधन एकान्त ठाउँमा नभइ सुरक्षित ठाउँमा पार्किङ गर्न, ह्यान्डिल लक गर्न तथा सुरक्षा साइरन जडान गर्न प्रहरीको अनुरोध छ । तर हराएको अवस्थामा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिन्छ ।