चार पूर्वउपकुलपतिले संयुक्त विज्ञप्ति जारी गर्दै भने– ‘उत्कृष्ट उम्मेदवारलाई सिफारिस गर’

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि उत्कृष्ट उम्मेदवारलाई सिफारिस गर्न पूर्वउपकुलपतिहरूले माग गरेका छन् ।

शुक्रबार साँझ पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविन जंग शाहले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न शिक्षामन्त्री अशोक राईको नेतृत्वमा गठित समितिले बिहीबार राति मात्र सर्ट लिस्ट सार्वजनिक गरेको छ । समितिले मागेको आवेदनमा ४३ जनाले निवेदन दिएका थिए । तीमध्ये १४ जना सर्ट लिस्टमा परेका छन् ।

अब सर्ट लिस्टमा परेकाहरूमध्येबाट कार्ययोजना र अन्तर्वार्तापछि तीन जना उम्मेदवारको छनोट गरी प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरिनेछ ।