विकास र सुशासनका लागि एमालेको सरकार हुनुपर्ने अध्यक्ष ओलीको भनाइ

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको बहुमतमा सरकार बने मात्रै जनताको हित हुने बताउनुभएको छ । रौतहटमा बिहीबार आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा गठबन्धनको नभई जनताको सरकार बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

विकास र सुशासनको लागि एमालेको सरकार हुनुपर्ने बताउँदै उहाँले मिशन–८४ लाई ध्यानमा राखेर पार्टीको सुदृढीकरण, सदस्यता बढाउने, कमिटी विस्तार र परिचलानतर्फ लाग्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले विभिन्न किसिमका भ्रमबाट जनतालाई बचाउनको लागि जनताका बीचमा गएर जनतालाई सचेत गराउनेतर्फ ध्यान दिन पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभयो । मधेशमा विनम्रताको कमी रहेकोले यस प्रदेशमा सबैलाई मनपर्ने व्यवहार गर्नुपर्ने उहाँको भनाइ थियो ।

एमाले सरकारमा भएको बेला कर्मचारीको तलब २५ प्रतिशतले बढाएको दाबी ओलीको थियो। ज्येष्ठ नागरिकको भत्ता, नयाँ राजमार्ग बनाउने, पुरानो बाटो बनाउने अभियान चलाउने कार्य एमालेले मात्रै गर्ने गरेको उहाँको जिकिर थियो । अहिलेको सरकारले बनाएको विमानस्थल पनि चलाउन नसक्ने भन्दै उहाँले एमालेको सरकार भएको भए निजगढ विमानस्थल अहिलेसम्म बनिसक्ने दाबी गर्नुभयो ।