म्याद गुज्रेका खाद्य सामग्रीमा नयाँ मिति राखेर बेच्ने ललितपुरकाे मिनाक्षी खाद्य उद्याेगमा ‘सिल’

काठमाण्डाै ।  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा सिल गरेको छ ।

म्याद गुज्रेका विभिन्न खाद्य सामग्रीमा नयाँ मिति राखेर आफूखुशी बजारमा बिक्री/वितरण गरी आमउपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने काम गरेको पाएपछि विभागले उद्योगमा सिल गरेको हो ।

अनुगमनका क्रममा उद्याेगले मिति मेट्न प्रयोग गरिने स्प्रिट, मिति पुनर्लेखन गर्ने मेशिन र म्याद गुज्रेका फार्म सिटी ब्रान्डका कर्नफ्लेक्स, ओट्सलगायत खाद्यवस्तु राखेकाे थियाे । साथै बादशाह ब्रान्डकाे मिति सकिएका र नसकिएका मसाला एकै ठाउँमा राखेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उद्योगमा स्थानीय जनप्रतिनिधिको रोहबरमा र विभागको अनुसन्धान टोलीले सिल गरेको हो । उद्योगका सञ्चालकलाई विभागमा आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको पनि प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।