सहिदहरुको बलिदानीलाई सम्झिँदै ‘सहादतको मर्म’ विषयक छलफल कार्यक्रम

काठमाण्डौ । मदन भण्डारी बौद्धिक मञ्च परिवारले सहिद दिवसको सन्दर्भमा सहादतको मर्म विषयक छलफल कार्यक्रम आयोजना गरेको छ ।

अनामनगरस्थित तमु बौद्ध समितिहलमा आज (आइतबार) आयोजना गरिएको सो छलफलमा इतिहासकार प्रा.डा.त्री रत्न मानन्धर, नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारी र नेकपा एमालेका महासचिव शंकर पोखरेलको सहभागिता थियो । कार्यक्रमको शुभारम्भ गर्दै मदन भण्डारी बौद्धिक मञ्च नेपालका अध्यक्ष कुलबहादुर आचार्यले लोकतान्त्रिक लडाइँमा बलिदानी दिने सम्पूर्ण सहिदहरुलाई सम्झिँदै सम्मान व्यक्त गर्नुभयो । उहाँले जननेता मदन भण्डारीका प्ररेणाका कुराहरु भावी पुस्तास्म्म पुर्याउन बौद्धिक मञ्च नेपालले समयसमयमा गोष्ठी सञ्चालन गरिरहेको बताउनुभयो ।

No description available.

इतिहासकार प्रा.डा.त्री रत्न मानन्धरले सहिद कसलाई भन्ने भनेर उठेको प्रश्नमा देशलाई निरकुशताबाट स्वतन्त्रता दिलाउन अह्म भूमिका खेलेका व्यक्ति नै सहिद कहलाउन उचित हुने बताउनुभयो । पूराना पुस्ताले युवा पुस्तालाई बुझ्ने र नयाँ पुस्ताले पूराना पुस्ताको अनुभव सुन्ने प्रयत्न गरिरहनुपर्ने उहाँको विचार थियो । समय र कालखण्ड जति फेरिएपनि पूराना देशभक्त पुस्ता र नयाँ पुस्ताको देशप्रतिको भावना र उद्धेश्य भने एउटै रहेको इतिहासकार प्रा.डा.त्री रत्न मानन्धरले बताउनुभयो ।

No description available.

त्यसतै, सहिदको योगदानप्रति नयाँ पुस्ताको बुझाइ गम्भीर हुनुपर्ने कांग्रेसका नेता भण्डारीले बताउनुभयो । साहस र धैर्य भएका व्यक्ति जसले प्रजातान्त्रिक प्रणालीको लागि अडिग भएर विभेदको सरकारविरुद्ध लडेका थिए उनीहरु कहिल्यै अपमानित नहुने उहाँले तर्क राख्नुभयो ।

नयाँ पुस्ताले सहिदले देखेका सपना के हुन् नेपालीहरुले नेपालभित्रै धेरै कुरा गर्नुृपर्ने बताउँदै उहाँले भन्नुभयो, “नेपालभित्र नेपाली खोज, नेपालीभित्र नेपाल खोज ।” सहिदहरुले भनेका यी दुई कुरा युवा पुस्ताले बुझ्नैपर्ने नेता भण्डारीले धारणा व्यक्त गर्नुभयो । अहिलेको पुस्ताले लोभ र राजनीतिमा लिप्त नभइ राष्ट्रनीति बनाए मुलुक बन्न धेरै समय नलागने उहाँको दाबी छ ।

यसैगरी, नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले रोजेका शक्तिलाई बाहिर राखेर शासन सञ्चालन गर्दा नागरिकमा निराशा बढ्ने बताउनुभएको छ । उहाँले भन्नुभयो,” जनताले रोजेका शक्तिहरूको भूमिका राजनीतिमा कम भयो भने, जनताले अस्वीकार गरेका शक्ति नै राजनीतिक किङमेकर बने भने जनतामा फ्रष्टेसन त आउँछ आउँछ ।”

राजनीतिक परिवर्तनबाट नागरिकको जीवनमा परिवर्तन गर्ने कुरामा नेपाली राजनीतिक दल चुकेका पोखरेलले बताउनुभयो। नेपालका राजनीतिक दल सहिदको भावनालाई सम्बोधन गर्न चुकेका उहाँको धारणा छ ।

सहिदका रूपमा सम्मान गर्नुपर्नेलाई राज्यले सम्मान गर्न उदासीनता देखाएको र सहिदको मान्यता दिनु नपर्नेलाई सम्मा गरेको स्थिति रहेको पोखरेलले टिप्पणी गर्नुभयो । अहिले सहिदलाई पैसामा मोलतोल गर्ने प्रयास भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । कोही मान्छे मर्‍यो भने राज्यका तर्फबाट १० लाख दिएर सहिद बनाउने र साहदत प्रतिकै अपमान गर्ने काम गरिएको पोखरेलले बताउनुभयो ।

No description available.

मदन भण्डारी मेमोरियल कलेजको व्यवस्थापनमा भएको आजको छलफल कार्यक्रम लाभदायीक भएको क्याम्पस प्रमुख डा.बाबुराम अधिकारीले बताउनुभयो । प्रजातन्त्र र वाक स्वतन्त्रताको लागि ज्यानको पर्वाह नगरेका ती वीर सहिदहरुको बलिदानीलाई उहाँले सधैँ सम्झिरहने बताउनुभयो । सहिदहरुको साहदतलाई सम्बोधन गर्न चुक्न नहुनेमा पनि उहाँले जोड दिनुभयो ।