जनताले रोजेका शक्ति सत्ताबाहिर हुँदा नागरिकमा निराशा छायो : शंकर पोखरेल

काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले रोजेका शक्तिलाई बाहिर राखेर शासन सञ्चालन गर्दा नागरिकमा निराशा बढ्ने बताउनुभएको छ ।

आज (आइतबार) काठमाण्डौमा सहिद दिवसको सन्दर्भमा आयोजित सहादतको मर्म विषयक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जनताले रोजेका शक्तिलाई बाहिर राखेर शासन सञ्चालन गर्दा नागरिकमा निराशा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताले रोजेका शक्तिहरूको भूमिका राजनीतिमा कम भयो भने, जनताले अस्वीकार गरेका शक्ति नै राजनीतिक किङमेकर बने भने जनतामा फ्रष्टेसन त आउँछ आउँछ ।’

राजनीतिक परिवर्तन समाज परिवर्तनका माध्यम बन्नु पर्नेमा राजनीतिक परिवर्तनलाई लक्ष ठानिएको कारण अहिलेको अवस्था आएको उहाँले बताउनुभयो । राजनीतिक परिवर्तनलाई समाज परिवर्तनको धेय र उद्देश्य बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । राजनीतिक परिवर्तनको लागि राजनीतिक दलको एकता आवश्यक पर्ने तर विकासको लागि भने नीतिगत स्पष्टता आवश्यक रहने पोखरेलको धारणा छ ।

पोखरेलले गठबन्धनका माध्यमबाट विकास नहुने र धेरै राजनीतिक दल हुँदा देशमा स्थिरता नहुने प्रष्ट पार्नुभयो । राजनीतिक स्थिरता र विकासका लागि थोरै र बलिया राजनीतिक दलको आवश्यकता रहेको पोखरेलले औँल्याउनुभयो ।

नेपालका राजनीतिक दल राजनीतिक परिवर्तनमा च्याम्पियन भएका भए पनि त्यसलाई संस्थागत गर्ने कुरामा भने चुकेका पोखरेलले बताउनुभयो । राजनीतिक परिवर्तनबाट नागरिकको जीवनमा परिवर्तन गर्ने कुरामा नेपाली राजनीतिक दल चुकेका पोखरेलले बताउनुभयो। नेपालका राजनीतिक दल सहिदको भावनालाई सम्बोधन गर्न चुकेका उहाँको धारणा छ ।

त्यस्तै, महासचिव पोखरेलले पुष्पलाल र बीपीकाबीचमा राम्रो सम्बन्ध भए पनि बीपी जीवित हुँदासम्म कम्युनिष्टसँग मिलेर पञ्चायत विरुद्ध आन्दोलनमा जान नचाहेको कारण पञ्चायत लम्बिएको बताउनुभयो । २०४६ सालमा गणेशमान सिंह संयुक्त जनआन्दोलनमा जान तयार भएपछि मात्र पञ्चायत फालिएको उहाँले स्मरण गराउनुभयो ।

२०४७ सालको संविधान कांग्रेस र बाममोर्चा मात्रै मिलेर जारी गरेका भए नेपालको संविधान र व्यवस्था त्यतिबेला नै निक्कै बलियो हुने र माओवादी आन्दोलन सुरु नहुने उहाँले धारणा राख्नु भयो। तर त्यतिबेला कांग्रेस र राजा मिल्दा वामपन्थीले अलग धारणा राख्नु पर्ने स्थिति आएको पोखरेलले बताउनुभयो।

२०६२/०६३ को परिवर्तन हिंसात्मक आन्दोलनबाटै स्थापित भएको भन्ने भ्रम माओवादीले फिँजाउने प्रयास गरेको कारण राजनीतिक अन्यौलता र अस्थिरता बढेको उहाँले बताउनुभयो। सो आन्दोलनमा प्रमुख भूमिका खेल्ने कांग्रेस, एमाले लगायतका दलहरूको योगदानलाई छोप्ने प्रयास भएको भन्दै उहाँले आलोचना गर्नुभयो।

पोखरेलले नेपालमा सहिदको परिभाषालाई नै पुन परिभाषित गर्न आवश्यक रहेको बताउनुभयो । सहिदका रूपमा सम्मान गर्नुपर्नेलाई राज्यले सम्मान गर्न उदासीनता देखाएको र सहिदको मान्यता दिनु नपर्नेलाई सम्मा गरेको स्थिति रहेको पोखरेलले टिप्पणी गर्नुभयो । अहिले सहिदलाई पैसामा मोलतोल गर्ने प्रयास भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । कोही मान्छे मर्‍यो भने राज्यका तर्फबाट १० लाख दिएर सहिद बनाउने र साहदत प्रतिकै अपमान गर्ने काम गरिएको पोखरेलले बताउनुभयो ।