ल्हारक्याललाई ओलीको प्रश्न : बैंकको लकरमा बुलेट त भेटियो, पेस्तोल खोइ ?

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीको रामग्राम स्तूप निजी कम्पनीलाई दिन लागिएको भन्दै आपत्ति जनाउनुभएको छ  ।

शनिवार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकास नभई रामग्राम परियोजना बनाएर भ्रष्ट्राचारको तानाबाना बुनेको बताउनुभयो ।

सम्राट अशोकले २३ सय वर्षअघि नखोलेको रामग्राम अहिले खोल्ने काम भएको बताउँदै उहाँले देश विकास, समृद्धिका लागि भन्दा पनि आफ्नो व्यक्तिगत समृद्धिका लागि त्यसको योजना बनाईएको बताउनुभयो  ।

रामग्राम विश्व सम्पदा सूचीमा पर्नुपर्ने ठाउँ रहेको, त्यहाँका एउटा इँटाको महत्त्व रहेको बताउँदै अध्यक्ष ओलीले यूनेस्कोको सहमतिबिना त्यहाँ केही गर्न नपाइने बताउनुभयो । उहाँले  पुरातत्त्व विभागका कर्मचारीलाई जागिर खाने काम मात्र नगरी पुरातात्त्विक महत्वका सामग्रीको रक्षा गर्न आग्रह गर्नुभयो ।

ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको बताउनुभयाे  । सत्तामा पुग्ने र सत्तामा अडिरहने बाहेक सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा केही पनि काम नगरेको ओलीको आरोप थियो ।

अध्यक्ष ओलीले सरकारले जनताको पीरमर्कामा साथ दिने काम नगरेको बताउनुभयाे ।