बौद्धिक पलायनको परिस्थिति रोक्न शिक्षा विधिमा गुणात्मक सुधार महत्वपूर्ण : प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छ। राजर्षिजनक विश्वविद्यालयको सातौं सभालाई आज (बिहीबार) सम्बोधन गर्दै उहाँले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिनेमा जोड दिनुभयो ।

राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई योगानुकूल परिस्करण गर्दै लैजानुपर्ने बताउनुभयो । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उहाँले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको बताउनुभयो । विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकामा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन प्रधानमन्त्रीले सुझाव दिनुभयो ।