हेटौँडा कपडा उद्योग फेरि सञ्चालन गर्न सकिने नेपाली सेनाको प्रतिवेदन

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको जानकारी लिनुभएको हो । नेपाली सेनाले उद्योग पुनः सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो ।

अध्ययन प्रतिवेदन सेनाले आजै सरकारलाई बुझाएको छ । २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौँडा कपडा उद्योग २०५६ सालदेखि बन्द भएको हो ।

प्रतिवेदनमा उद्योग बन्द हुनुको कारण बजारको कमजोर व्यवस्थापन, प्रविधिको समयअनुसार सुधार हुन नसक्नु, बिजुली अभाव, धेरै जनशक्ति र व्यवस्थापकीय क्षमता कम हुनु उल्लेख गरिएको छ । धेरैजसो कच्चा पदार्थ देशमै हुनु, उद्योगको स्वामित्वमा एक सय ६६ रोपनी जग्गा हुनु, उद्योगको न्यूनतम पूर्वाधार हुनु, स्थानीय उत्पादनको माग बढ्नु लगायतका कारण उद्योग सञ्चालन गर्न सकिने सेनाको प्रतिवेदनमा भनिएको छ ।