सरकारले आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको छ : सञ्चारमन्त्री शर्मा

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आम सञ्चार क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताउनुभएको छ । आज (बुधबार) नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

आम सञ्चार क्षेत्रको पुनः संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरी सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको जानकारी दिनुभयो । आम सञ्चार नीति, २०७३ र सङ्घीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिएको पनि मन्त्री शर्माले बताउनु भयो ।

उहाँले सरकारी सञ्चारमाध्यमहरु सरकारी सूचना प्रसारण गर्ने एकोहोरो प्रशारक मात्र नभएको भन्दै सबै कार्यलाई जनताको बिचमा लैजाने र जनताको आवाज र गुनासो, अपेक्षासम्मलाई राज्य समक्ष पु¥याउने माध्यम भएको जिकिर गर्नुभयो ।

मन्त्री शर्माले सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगर्ने हो भने अब टेलिभिजनको पहुँच विस्तार गर्न कठिन रहेको बताउनुभयो । उहाँले नेपाल टेलिभिजनले डिजिटलाइजेशनलाई अझै बढाउन आवश्यक रहेको जिकिर गर्नुभयो । मुलुकको अधिकतम क्षेत्रका जनतासमक्ष सेवा पुर्‍याउन उपयुक्त र सुलभ प्रविधिको प्रयोगमा पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।