पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारको अभियोगमा १४ वर्ष जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ । राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना चुहावटसम्बन्धी मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि यो फैसला आएको हो ।
पीटीआईका संस्थापक तथा पूर्वप्रधानमन्त्री खान र उहाँकी पत्नीलाई १० वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्न अयोग्य घोषित गरिएको छ भने उहाँलाई ७८ करोड ७० लाख पाकिस्तानी रुपियाँ जरिवाना समेत गरिएको छ । आरी न्यूजका अनुसार बुधबारको सुनुवाईमा पीटीआईका संस्थापक बीबीलाई अदालतमा पेश गरिएको थियो ।
सन् २०२२ मा सत्ताच्युत भएयता खानलाई पाकिस्तानका सैन्य योजनाकारविरुद्ध अवहेलनाको अभियान चलाएपछि उहाँलाई पुनः सत्तामा फर्कन नदिन अदालती मुद्दाले गाडेको छ ।
खानले आफ्नो कार्यकालको अधिकांश समय साझेदारीमा शासन गरेको शक्तिशाली सेनामाथि अमेरिका समर्थित षडयन्त्रमा आफूलाई सत्ताच्युत गरेको आरोप लगाएको थियो । गत वर्षको मे महिनामा खानलाई पहिलो पटक पक्राउ गर्दा देशभर दङ्गा भड्किएको थियो ।
उहाँको सडक आन्दोलन एक सैन्य दमनद्वारा निस्क्रिय पारिएको थियो जसमा हजारौं पीटीआई समर्थकहरूलाई हिरासतमा लिइएको थियो । जसमध्ये सयौँले बन्द–ढोकाभित्र सैन्य सुनुवाईको सामना गरिरहेका छन् र दर्जनौं वरिष्ठ नेताहरूलाई भूमिगत हुन बाध्य पारिएको छ ।