सिन्धुपाल्चोकको हेलम्बुमा जिप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु पाँचजना गम्भीर घाइते

काठमाण्डौ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा जिप दुर्घटना हुदाँ दुई भुटानी नागरिकको मृत्यु भएको छ । अन्य पाँचजना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार हेलम्बुको दोरिङ भीरबाट बा २ च ४४५० नम्बरको जिप ५० मिटर तल खसेकोे हो । उक्त जिपमा एक नेपाली चालक र अन्य भुटानी नागरिक सवार थिए ।

जिप दुर्घटनामा परेर मृत्यु हुनेमा ७१ वर्षीया वान मो, ३३ वर्षीय टग्प गेङ रहेको इप्रका हेलम्बुका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । गम्भीर घाइते भएका अन्य चारजनालाई हेलम्बु स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

उपचार गराइरहेका चार जना मध्ये तीनजना गम्भीर अवस्थामा रहेका छन् । अधिकाँशको टाउको र हातपाउमा गहिरो चोट लागेको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले गम्भीर घाइतेलाई हेलिकप्टरबाट राजधानीमा उपचार गराउन लैजाने तयारी भइरहेको बताउनुभयो ।