आगामी संसद अधिवेशनमा विधेयकहरु टुङ्गोमा पुर्याउन आवश्यक : सञ्चारमन्त्री शर्मा
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी संसद अधिवेशनमा समितिमा रहेका विधेयकहरु टुङ्गोमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
आज (सोमबार) प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा भएको छलफलमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
सञ्चारमन्त्री शर्माले सरकारले संसद अधिवेशनमा धेरै अन्य विधेयकहरु पेश गर्ने तयारी रहेको बताउनुभयो । उहाँले माघ २२ गते सरकारले हिउँदे अधिवेशन बोलाएकाले समितिमा विचाराधिन रहेको धेरै भन्दा धेरै विधेयक पेश गर्ने तयारी गरिरहेको बताउनुभयो ।
सञ्चारमन्त्री शर्माले उन्नत स्तरको स्वतन्त्र र जनउत्तरदायी सरकारी मिडिया बनाउन रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने गरी विधेयक आएको बताउनुभयो । उहाँले सरकारको उद्देश्य सरकारी मिडियालाई जनताको अपेक्षा र सरकारको कामसँग जोड्ने गरी विधेयक ल्याउन लागेको बताउनुभयो । उहाँले सरकारी सञ्चार माध्यम जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो ।
मन्त्री शर्माले मुल विधेयक र संशोधन भएको विधेयकमा पनि दफाबार छलफल गरेर समितिले आवश्यक संशोधन गर्ने बताउनुभयो ।