उद्योगहरुले १ हजार ६ सय कामदारलाई प्रशिक्षणपछि काम दिने
काठमाण्डौ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि उद्योगहरुसँग सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसङ्घ र परिसङ्घमार्फत् कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रममा सहभागी हुने उद्योगहरूबीच सम्झौता भएको हो ।
सम्झौता गर्ने उद्योगहरूमा लिटमस इन्डस्ट्रिज प्रालि, अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण सुज म्यानिफ्याक्चर्स प्रालि, बाबा जुट मिल प्रालि, मोर्डन स्लिपर इन्डस्ट्रिज प्रालि र रन सुज इन्डस्ट्रिज प्रालि रहेका छन् ।
सम्झौता अनुसार यी उद्योगले एक हजार ६६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी प्रशिक्षण दिएपछि कम्तीमा १८ महिनाको रोजगारी दिनेछन् । श्रमयोग्य जनशक्तिलाई सीपयुक्त बनाइ आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीको अवसर दिन र रोजगारमूलक तथा सीपमूलक तालिम प्रदान गर्न सरकारले बजेट विनियोजन गरेको छ ।
कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि अनुसार यस कार्यक्रममा सहभागी हुने प्रशिक्षार्थीका लागि बढीमा तीन महिना अवधिको पारिश्रमिक सरकारले बेहोर्नेछ । यो कार्यक्रम गएको वर्षदेखि नै कार्यान्वयनमा आएको भए पनि यसको प्रभावकारिता भने निकै कम देखिएको छ ।
१२ हजार जनालाई रोजगारी दिने अपेक्षा गरिएकोमा अहिलेसम्म एक सय ५३ जनालाई मात्रै यो कार्यक्रमअन्तर्गत रोजगारी मिलेको छ ।