आजदेखि धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सुविधा सञ्चालनमा

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आजदेखि धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराएको छ । गएको मङ्गलवारदेखि न्युरोडमा कालोपत्र सडकमाथि गाडी पार्किङ निषेध गरेको महानगरपालिकाले विकल्पमा धरहरा क्षेत्रमा पार्किङ उपलब्ध गराएको हो ।

महानगरले यसअघि नै पुरानो बसपार्क क्षेत्रमा पनि पार्किङ सुविधा उपलब्ध गराएको छ । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध भएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताउनुभयो ।

पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । शहीदगेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाण्डौ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ । त्यहाँ गएको दशैँदेखि छठपर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।