मदन भण्डारी मेमोरियल कलेजको आयोजनामा निः शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले निः शुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना सम्पन्न गरेको छ । आज शनिबार कीर्तिपुर नगरपालिका वडा नं. ३ स्थित हितिगाः सामुदायिक भवनमा उक्त स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
विश्व क्यान्सर दिवसको उपलक्ष्यमा मदन भण्डारी मेमोरियल कलेज र कीर्तिपुर नगरपालिका वडा नं. ३ को संयुक्त आयोजना तथा पालिफल स्वास्थ्य चौकीको सहयोगमा निःशुल्क स्वास्थ शिविर आयोजना गरिएको कार्यक्रम संयोजक एवम् अंग्रेजी विभाग प्रमुख गङ्गा महर्जनले बताउनु भयो ।
यस अवसरमा प्रसूति तथा स्त्री रोग विशेषज्ञद्वारा पाठेघर क्यान्सर सम्बन्धी जाँच, परामर्श र जनचेतना गराउनुका साथै पिसाब चुहिने समस्याको लागि केगल व्यायाम सिकाइनुका साथै दन्त परिक्षण समेत गरिएको थियो ।
मदन भण्डारी मेमोरियल कलेज आफैमा सामुदायिक कलेज भएकाले सामुदायिक क्षेत्रमा नागरिकहरूलाई सेवा दिने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको कार्यक्रम संयोजक महर्जनले बताउनुभयो ।
यस्तै, कतिपय अवस्थामा महिला दीदिबहीनिहरुले लुकाएर राख्ने गरेको स्वास्थ्य समस्या यस्ता शिविरमा सामूहिक रुपमा आएर आफ्नो समस्या बताउने र त्यसको उपचार पाउने हुदा आम नागरिकमा सहज हुने गरेको पालिफल स्वास्थ्य चौकी प्रमुख युवराज अर्यालले बताउनुभयो । यसले स्वास्थ्य चौकीमा खुलेर भन्न नसकेका स्वास्थ्य समस्या शिविरमा आएर खुलस्त राख्ने गरेको प्रमुख अर्यालको भनाई छ ।
जसले गर्दा महिलाहरूलाई परामर्श र थप सेवा दिन पाउने उहाँले बताउनुभयो । यस्तै शरीरमा के कस्तो समस्या छ भन्ने अलिकति जानकारी हुदा साथ थप उपचारको लागि सहयोग पुग्ने र रोगप्रति सजग बन्न पाउने हुँदा पनि शिविरप्रति आम मान्छेको आकर्षण हुनेगरेको प्रमुख अर्यालको भनाई छ ।
विश्व क्यान्सर दिवसको उपलक्ष्यमा मदन भण्डारी मेमोरियल कलेजले कीर्तिपुर नगरपालिका वडा नं. ३ र पालिफल स्वास्थ्यचौकी सहयोगमा ‘महिला प्रजनन तथा पाठेघर र दन्तरोग’ सम्बन्धी निशुल्क स्वास्थ्य शिविर आयोजना गर्न पाँउदा खुसी लागेको क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले बताउनु भयो । आगामी दिनमा पनि यस्ता खालका सामाजिक कार्य गर्दै जाने उहाँको भनाई छ ।
शनिबार बिहान ८ बजेदेखि सुरु भई दिउँसो ३ बजेसम्म झण्डै २०० जनाले स्वास्थ्य परिक्षण गराएको कार्यक्रम संयोजक एवम् अंग्रेजी विभाग प्रमुख गङ्गा महर्जनले बताउनु भयो ।