कृषि क्षेत्रको प्रगति प्रविधिमार्फत मात्रै सम्भव छः मन्त्री भुसाल
काठमाण्डौ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताउनु भएको छ ।
शुक्रबारबाट सुरु भएको तीन दिने कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उहाँले प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको बताउनु भएको हो ।
उहाँले नेपालले कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने बेला भइसकेको भन्दै सरकारले कृषि उत्पादनलाई अझ बढाउने गरी काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च घटाउनुपर्ने बताउनु भयो । उहाँले कृषिमा अबका दिनमा यान्त्रीकरणको महत्व बढ्दै गइरहेको बताउानु भयो ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले किसानहरु ठगिने कुरालाई रोक्न जरुरी रहेको बताउनु भयो । उहाँले व्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण किसानहरु ठगिने गरेको बताउनु भयो ।
शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १४ गतेसम्म सञ्चालन हुनेछ ।