ऐतिहासिक दस्ताबेज नष्ट गर्नेविरुद्ध राष्ट्रद्रोहसरहको मुद्दा चलाउनुपर्ने सांसदहरुको भनाई

काठमाण्डौ ।  सांसदहरुले राज्यका महत्वपूर्ण अभिलेख तथा ऐतिहासिक दस्ताबेजहरु नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाएर कारबाही गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरुले राज्यको ऐतिहासिक दस्ताबेज तथा अभिलेखहरुलाई नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाउनुपर्ने धारणा राखेका हुन् ।

सांसदहरुले यस्तो काम गर्नेलाई कडाभन्दा कडा सजाय तथा जरिवाना हुनुपर्ने बताएका छन् । बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची रहेको थियो । सो विधेयकमा संशोधन राख्ने केही सांसदहरुलाई बैठकमा बोलाइएको पनि थियो । सांसदहरुले आफ्नो संशोधन राख्दै यस्तो धारणा राखेका हुन् ।

बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रिय महत्वका कागजातहरु नेपालबाहिर लैजान दिनु नहुनेमा जोड दिनु भयो । उहाँले त्यस्ता कागजात नेपाल बाहिर लानुपरे अपरिहार्य कारण खुलाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ऐतिहासिक दस्ताबेज नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको कारबाही हुनुपर्ने बताउनु भयो । उहाँले २० वर्ष कैद र धेरै जरिवाना हुनुपर्ने भनाई थियो । उहाँले अभिलेखहरुलाई विद्युतीय अभिलेखमा रुपान्तरण गर्नुपर्ने पनि बताउनु भएको हो ।

यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राज्यका महत्वपूर्ण अभिलेख नष्ट गर्नेलाई ३÷५ वर्षको सजायले नपुग्ने बताउनु भयो । उहाँले विधेयकमा सजायको व्यवस्था कम भएको उल्लेख गर्दै कम सजायको व्यवस्था गरेर विधेयक ल्याउनु आपत्तिजनक भएको बताउनु भयो ।