राष्ट्रिय सभा निर्वाचन : आज रातिदेखि मौन अवधि सुरू हुँदै
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आवश्यक सुरक्षा ब्यवस्था सहितको तयारी कार्य पूरा गरेको जनाएको छ । साथै आयोगले निर्वाचनका लागि प्रचार प्रसार काम बन्द गर्न आब्हान समेत गरेको छ ।
यही माघ ११ गते हुने मतदानका लागि निर्वाचन मण्डलको सदस्य रहेका प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाताको रुपमा विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरुमा मतदान गर्ने ब्यवस्था मिलाइएको जनाएको छ ।
आयोगका सह सचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनको सबै तयारी पूरा भएको र आज राति १२ बजेपछि मतदानकार्य समाप्त नहुन्जेलसम्म प्रचार प्रसारका कार्यहरु बन्द गरिएको छ ।
निर्वाचनमाप्रदेश सभाका सदस्यहरुका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरुका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरुको ब्यवस्था गरिएको आयोगले जनाएको छ ।