आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट फेरि १ जना पक्राउ

काठमाण्डौ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४ सय ९९ ग्राम सुनसहित आज (आइतबार) दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो । कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको सुनसहित दर्जीलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहादेखि काठमाण्डौ आएका दर्जीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डा. पाण्डेले बताउनुभयो । बरामद भएको सुन दर्जी आफैँले ल्याएका हुन् या सुन ल्याइदिनका लागि उनी कसैको भरिया भएका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको पाण्डेको भनाइ छ ।