जलवायु परिवर्तनको क्षति न्युनिकरणका लागि ‘नेचरबेस सोलुशन’मा जान विज्ञहरुको जोड

काठमाण्डौ । विज्ञहरुले जलवायु परिवर्तनको क्षति न्युनिकरणका लागि प्रकृतिमा आधारित समाधान (नेचरबेस सोलुशन)मा जान जोड दिएका छन् ।

हिजो (शुक्रबार) ललितपुरमा आयोजित जलवायु परिवर्तनको क्षति न्युनिकरणका लागि प्रकृतिमा आधारित समाधान राष्ट्रिय स्तरको गोष्ठीमा बोल्दै विज्ञहरुले यस्तो धारणा राखेका हुन् । उहाँहरुले नेपालले पनि जलवायुजन्य विपद् न्युनिकरणका लागि प्रकृतिमा आधारित समाधानको योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँहरुले जलवायु परिवर्तनको असर दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा परापूर्वकालदेखि प्रयोग गरिरहेका ज्ञान, सीपहरुको प्रयोग गरेर क्षति न्युनिकरण गर्नसक्ने बताउनुभयो । उहाँहरुले प्रकृतिमा भएको श्रोतहरुको प्रयोगबाट पनि क्षति कम गर्न सकिने बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै चुरे तराई–मधेस संरक्षण विकास बोर्डका अध्यक्ष किरण पौड्यालले प्रकृतिमा आधारित समाधानमा केन्द्रित भएर जलवायुजन्य विपद्बाट भएका क्षति न्युनिकरण गर्न सकिने बताउनुभयो । उहाँले परिस्थिति र रुपान्तरणलाई बुझेर क्षति कम गर्नका लागि प्रकृतिमा आधारित समाधान जरुरी भइसकेको बताउनुभयो ।

उहाँले प्रकृतिमा आधारित समाधानका लागि राजनीतिक तहको स्वीकारोक्ति र नीति निर्माणको आवश्यकता रहेको बताउनुभयो । जलवायुजन्य असर कम गर्नका लागि स्थानीय सरकारले पनि प्रकृतिमा आधारित समाधानका नीति ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले सरकारले जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि बनाएका नीतिहरु पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । तीन तहकै सरकारले हरेक क्रियाकलापमा प्रकृतिमा आधारित समाधानलाई समावेश गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष पौड्यालले जलवायु परिवर्तनको असर न्युनिरकणका लागि सरकारले बनाएका नीति, नियमहरुको कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले आफ्नै आयोजनाको जोखिमलाई पनि बेवास्ता गर्ने परिपाटी विकसित भइरहेको बताउनुभयो । उहाँले आयोजनाहरु निर्माण गर्दा सस्तो र क्षणिक फाइदाका रुपमा मात्रै लिने गरिएको बताउनु भयो । उहाँले आयोजना बनाउँदा जोखिम न्युनिकरण र दिगो विकासमा बढी चासो नदिएको देखिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै डिसिए नेपालकी राष्ट्रिय निर्देशक सम्झना बिष्टले जलवायु परिवर्तनका समस्या न्युनिकरणका लागि प्रकृतिमा आधारित समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रकृतिमा आधारित समाधान कम पैसा लाग्ने र स्थनीय प्रयासबाट नै सफल र सहज हुने भएकाले जलवायुजन्य विपद् न्युनिकरणको उपयुक्त माध्यम बन्ने बताउनुभयो । उहाँले डिसिए नेपालले जलवायुजन्य विपद् न्युनिकरणका लागि क्षति तथा नोक्शानीलाई कम गर्ने उपायबारे काम गर्दै आइरहेको बताउनुभयो ।

बिष्टले जैविक विविधतामा हालको वर्षहरुमा धेरै ह्रास आउनु जलवायु परिवर्तनकै कारण रहेको बताउनुभयो । प्रकृतिमा आधारित समाधानको परिभाषा एउटै बनाएर प्रकृतिलाई नै बचाउने र प्रकृतिसँगसँगै काम गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले जलवायुजन्य जोखिम न्युनिकरणको लागि प्रकृतिमा आधारित समाधान रापूर्वकालदेखि प्रयोग गरिरहेका ज्ञान, सीपहरुको प्रयोग गरेर, प्रकृतिमा भएको श्रोतको उपयोग गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्रालयका उपसचिव राजु सापकोटाले प्रकृतिमा आधारित समाधानको बुझाइमा एकरुपता बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले कतिपय सरकारी नीतिहरु एकपक्षिय रहेकाले सबै पक्षलाई बराबर समेटेर नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले ठूला परियोजना निर्माण गर्दा भविष्यमा पार्नसक्ने असरको बारेमा अध्ययन र आँकलन गरेर मात्रै निर्माण सुचारु गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अधिकांश राजनीतिक दलका नेताहरुको प्राथमिकता पूर्वाधार विकास मात्रै हुने गरेको बताउनुभयो ।

पूर्वाधार विकास गर्दा प्रकृतिमैत्री कसरी बनाउने भन्ने बारेमा पनि अध्ययन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सरकारबाट बनाइएका नीति कार्यान्वयन गर्ने क्षमतामा समस्या रहेको औंल्याउनुभयो ।