अदालतले पनि मधेशलाई न्याय नदिएको लोसपाका अध्यक्ष महन्थ ठाकुरको टिप्पणी

काठमाण्डौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि आफूहरूलाई न्याय नदिएको टिप्पणी गर्नुभएको छ । सरकारले मधेशमाथि विभेद जारी राखेको जिकिर गर्दै ठाकुरले अदालतले पनि न्याय नदिएको गुनासो गर्नुभएको हो ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीमा ठाकुरले भाषाको सवाल, राष्ट्रिय पोशाकको सवालमा अदालतले पनि मधेशलाई साथ नदिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विभेद जारी छ । अदालतबाट पनि हामीले जुन न्याय पाउनुपर्ने हो, त्यो न्याय चाहे त्यो भाषाको कुरा हुँदाखेरी, ड्रेसको कुरा व्यवहारमा हामीले यो सबै कुरा पाएका छौँ । तर, जहाँसम्म वैधानिकताको प्रश्न छ । कुनै पनि भाषा, संस्कृति जब हामी विविधताले भरिएको देश हो । कुनै खास भाषा, खास संस्कृति कुनै खास ड्रेसलाई नेसनल ड्रेसको रूपमा हेरियो भने अरु के हुन्छ त ? अरुको भाषा, अरुको संस्कृतिलाई के भन्ने त ? यो अवस्था अहिले पनि छँदै छ ।’

सबैभन्दा बढी जनसंख्या भएको मधेश प्रदेशमा कम बजेट दिने कामसमेत भएको भन्दै मधेशमाथि भएको विभेदविरुद्ध फेरि संघर्ष चर्काउनुपर्ने बेला आएको उहाँको भनाइ छ । अध्यक्ष ठाकुरले समग्र मधेशवासीको प्रतिनिधित्व मधेश प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरूको हितका लागि पनि आफूहरूले संघर्ष गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।