पत्रकार शेर्माको उपचारका लागि ३ लाख ८७ हजार आर्थिक सहयोग

घाँटीमा क्यान्सर भई उपचार गराइ रहनुभएका पत्रकार कविन्द्र शेर्माको सहयोगका लागि  सङ्कलित ३ लाख ८७ हजार नगद  हस्तारन्तरण गरिएको छ । किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो दक्षिण कोरियाको नेतृत्वमा संकलन गरिएको सो रकम आज (शुक्रवार) शेर्मालाई हस्तान्तरण गरिएको हो ।

उपचारका लागि सङ्कलित रकम हस्तान्तरण गर्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अनामनगरस्थित संघीय कार्यलयमा संक्षिप्त कार्यक्रमको आयोजना गरिएको थियो । फोनिज अध्यक्ष गजुरधन राई र किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भोका नेतृत्वहरूद्वारा संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण पछि स्वास्थ्यलाभको कामना गर्नुहुँदै फोनिज अध्यक्ष गजुरधन राईले कविन्द्र शेर्मा देशकै प्रतिभा भएको बताउनु भयो । ‘उहाँको उपचारलाई सफल बनाउन  पूर्वदेखि पश्चिमसम्मका फोनिजकर्मी एकतावद्ध छौं’ अध्यक्ष राईले बताउनुभयो ।

हस्तान्तरण गरिएको रकममध्ये ३ लाख ६० हजार रुपैयाँ रकम दक्षिण कोरियामा संकलन गरिएको हो । बाँकी २७ हजार नेपालमै संकलन गरिएको सङजुम्भो, काठमाडौं उपत्यका समन्वय समितिका अध्यक्ष विर्ख शेर्मा र सचिव डम्बर शेर्माले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै फोनिज उपाध्यक्ष अमरध्वज लामा र महासचिव मिलन लिम्बूले क्यान्सरको उपचार आफैंमा अन्त्यन्तै खर्चिलो भएकाले फोनिजले पनि ६४ जिल्ला समिति, प्रदेस समिति र नेपाल बाहिर विभिन्न ८ वटा देशमा  रहेका विदेश समिति मार्फत सहयोग सङ्कलन अभियान सञ्चालन गरिरहेको बताउनु भयो ।

त्यसैगरी,  किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो दक्षिण कोरियाका पूर्व सचिव सुदिप शेर्माले क्यान्सरसँगको संघर्षमा  कविन्द्र शेर्मालाई जिताउन आफ्नो गाँस काटेर आर्थिक सहयोग गर्नुहुने दक्षिण कोरियास्थित शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आर्थिक सङ्कलन अभियानको अगुवाई गर्नुहुने युगल किशोर शेर्मा, गजेन्द्र शेर्मा, सागर शेर्मा, नरेन्द्र शेर्मा, टिकेन्द्र शेर्मा लगायतका सबैप्रति सङजुम्भोतर्फबाट आभार प्रकट गर्नुभयो ।

पाँचथरका लागि रेडियो नेपालका पूर्व संवाददाता समेत रहनु भएका शेर्मा करिब २७ वर्षदेखि पत्रकारितामा सकृय हुनुहुन्छ । फोनिज पाँचथरका संस्थापक अध्यक्ष समेत रहनु भएका शेर्मा पाँचथरमा पत्रकारहरू जन्माउने अगुवाका रूपमा परिचित हुनुहुन्छ । उहाँ हाल पाँचथर एफ एमका अध्यक्ष हुनुहुन्छ भने यसअघि उहाँ इगल एफ र समात्लुङ एफ एमका संस्थापक प्रबन्धक रहनु भएको थियो ।

सहयोग रकम ग्रहणगर्दै कविन्द्र शेर्माले क्यान्सरसँगको लडाँइमा सबैको साथ पाउँदा अब जितिन्छ भन्ने आत्मबल बढेको सुनाउनु भयो। उहाँले सहयोगीहरूप्रति आभार प्रकट गर्दै भन्नुभयो “पत्रकारिताबाट आर्थिक उन्नति गर्न नसकेनि सम्पतिको रूपमा आफन्त र साथीभाइ कमाएको रहेछु ।”