उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा परेनः नेता पौडेल

काठमाण्डौ । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले विश्व विद्यालयलाई राजनीतिक भागबण्डाका आधारमा चलाउनु नहुने बताउनु भएको छ ।

शुक्रवार नेपाल विद्यार्थी संघले काठमाडौमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सांसद पौडेलले विश्व विद्यालय कुनै राजनीतिक दलको भागबण्डाको आधारमा चलाउनु गलत भएको बताउनु भयो ।

उहाँले विश्व विद्यालयको स्वच्छ प्रतिष्पर्धाको आधारमा सरकारले नियुक्त गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले विश्वविद्यालयको वर्तमान अवस्थालाई सम्हाल्न सक्ने र बुझ्नसक्ने एवं विश्वविद्यालयमा सुशासन कायम राख्नसक्ने व्यक्तिलाई सरकारले छनोट गर्न आवश्यक रहेको बताउनु भएको छ ।

नेता पौडेलले उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा पर्न छोडेको बताउनु भयो । उहाँले नेपाललाई कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हो ? भन्ने विषयमा सरकार स्पष्ट हुन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली समाजलाई कस्तो बनाउने भन्नेमा समेत सरकार प्रष्ट नभएको बताउनु भएको हो ।