वर्तमान गठबन्धन भत्काएर भएपनि सरकार सञ्चालन गर्छौँ : अध्यक्ष ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिनुभएको छ ।

आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उहाँले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताउनुभयो । उहाँले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोप लगाउनुभयो ।

उहाँले अहिलेको सत्ता गठबन्धनका नेताहरु देशद्रोही जातका भएको बताउनुभएको छ । देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउन अध्यक्ष ओलीले आव्हान गर्नुभयो ।

अध्यक्ष ओलीले मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले बताउनुभयो, ‘‘ हामीले मिसन ०८४ पर्खिन नसक्ने पनि अवस्था आउन सक्छ । देश बर्बाद भयो भने मिसन ०८४ भनेर पर्खिएर हुँदैन । उस्तै पर्‍यो भने हामीले यो गठबन्धन भत्काएर, यतापट्टी यो लोभिपापी नभत्किन सक्छन्। एक पटक एक जनाले भनेका थिए, फलानासँग मेरो गर्धन र घाँटी जोडिएको छ । यिनीहरुको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ ।”