सामुदायिक विद्यालयमा स्मार्ट स्कुल कार्यक्रम अघि बढाउछौँ : मन्त्री शर्मा

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माध्यमिक तहका केही सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम अघि बढाउने बताउनुभएको छ ।

आज (बिहीबार) आफूले मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री शर्माले यसै वर्षबाट सरकारले माध्यमिक तहका केही सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम अघि बढाउने बताउनुभएको हो ।

उहाँले दूरसञ्चार पूर्वाधार विकासलाई समृद्धिको अनिवार्य सर्त मानेर मन्त्रालय अघि बढेको जानकारी दिनुभयो । उहाँले यसै आर्थिक वर्षमा ब्यान्डविथ प्लेटफर्मको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम रहेको पनि बताउनु भयो । उहाँले कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्ला समावेश हुने गरी हाइ क्यापासिटी माइक्रोवेभ रेडियोमार्फत ट्रान्समिसन नेटवर्क सञ्चालनमा ल्याउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

मन्त्री शर्माले सबै स्थानमा टेलिफोनको पहुँच पु¥याउन हाल पाइलटिङको रूपमा जिल्ला घोषणा गरी गुणस्तर सुधार र पहुँच विस्तारका लागि भूकम्प प्रभावित जाजरकोट, रुकुमसहित १९ जिल्लालाई नमुना जिल्ला घोषणा गरी कार्यान्वयन गर्न हिकाई स्थापनासमेत भइसकेको बताउनुभयो । उहाँले सूचना प्रविधिसम्बन्धी सबै काम गर्न दूरसञ्चार पूर्वाधार बिना सम्भव नरहेको बताउनुभयो ।

मन्त्री शर्माले दूरसञ्चार सेवा अत्यन्त विकट र दुर्गम क्षेत्रमा विस्तार गर्ने कार्यक्रमअन्तर्गत दार्चुलाको छाङरुङ , जुम्लाको आचार्य वडा, रुकुमपूर्वको सिस्ने, मुस्ताङको खिंगा, हुम्लाको धाराकोडी ओख्रेनी, बागलुङको आनी र जैधी पाखाकोटलगायतका स्थानमा दूरसञ्चार सेवा बिस्तार गरिएको बताउनुभयो ।